गणतन्त्र दिवस, २०७८ को शुभकामना सन्देश

गणतन्त्र दिवस २०७८ को सुखद् उपलक्ष्यमा मलेसिया, ब्रुनाई, फिलिपिन्स, ईण्डोनेसिया तथा अन्य मुलुकहरुमा विभिन्न पेशा, व्यवसाय, रोजगार लगायतका क्रियाकलापहरु गरी बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शु-स्वास्थ्य, सुख र शान्तिको लागि शुभकामना व्यक्त गर्दछौं।

कोरोनाभाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका समयमा समेत मानव जीवनको रक्षाको लागि अत्यावश्यक बस्तु तथा सेवाहरुको उत्पादन देखि वितरणसम्मका श्रृङ्खलाहरुमा आवद्ध भई संयमताका साथ विश्व मानव समुदायलाई सेवा दिई रहनु भएको छ। यसको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

तपाईहरुले विदेशमा आर्जन गरेको ज्ञान, सीप, अनुभव र बचत उचितरुपमा पूँजी तथा लगानीमा परिणत भई स्वदेशमै पर्याप्त रोजगारीका अवसरहरु सृजना हुनेछन्, सम्पूर्ण नेपालीहरुको जीवनस्तर गुणात्मक हुनेछ तथा स्वावलम्बी र आत्मनिर्भर नेपाली अर्थतन्त्रको निर्माण हुनेछ भन्ने कामना गर्दछौं।

विश्‍वव्यापी महामारीको रुपमा रहेको कोभिड-१९ को तीब्र सङ्क्रमणको नियन्त्रण, संक्रमितहरुको उपचार तथा थप संक्रमण हुनबाट रोक्नको लागि सबैजसो मुलुकहरुले आ-आफ्नो आवश्यकता अनुसारको विभिन्न उपायहरु अपनाई रहेका छन्। आफु बसिरहेको मुलुकले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरू र अन्य नियमहरूको पालना गर्दै सुरक्षित रहनु हुन सबैमा हार्दिक आह्वान गर्दछौं।

अन्त्यमा, राजदूतावासबाट प्रदान गरिने सेवाको सीघ्र प्रवाह, गुणस्तरियता र निरन्तर सुधारको लागि प्रतिवद्धता व्यक्त गर्दछौं।

महामहिम राजदूत श्री उदयराज पाण्डे
तथा राजदूतावास परिवार