प्रेस विज्ञप्तिः नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (SOCSO) बीच सहकार्य गर्ने समझदारीपत्र (Memorandum of Collaboration) मा हस्ताक्षर

नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (SOCSO) बीच नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रबर्धन सम्बन्धी सहकार्यको समझदारीपत्र (Memorandum of Collaboration) मा हस्ताक्षर भएको छ । नेपाली राजदुतावास क्वालालम्पुरको सकृयतामा समझदारीपत्रको मस्यौदा उपर विभिन्न चरणमा छलफल भएपश्चात तयार भएको अन्तिम मस्यौदालाई नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति २०७७।१०।२६ मा बसेको वैठकले स्वीकृति प्रदान गरेको थियो । मन्त्रिपरिषद्‍को निर्णयानुसार उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नको निम्ति वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई अख्तियारी प्रदान भएकोमा मिति २०७७।११।०४ मा वोर्डका कार्यकारी निर्देशक श्री राजन प्रसाद श्रेष्ठ र मिति २०७७।११।१४ मा SOCSO का प्रमुख कार्यकारी अधिकृत दातो श्री डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मद ले हस्ताक्षर गर्नुभएको छ । विश्वव्यापी कोभिड-१९ को संक्रमणका परिदृष्यमा पत्रको आदानप्रदान (Letter of Exchange) मार्फत काठमाण्डौ र क्वालालम्पुर दुवै स्थानमा गरी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिकहरु भर्ना गर्दा यस सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान रहिआएकोमा SOCSO द्वारा उपलब्ध गराइएको जानकारी अनुसार हालसम्म करीव ३ लाख नेपाली श्रमिकहरु यसमा आवद्ध भैसकेका छन् । यस संस्थामा आवद्ध हुनका निम्ति रोजगारदाताले श्रमिकको निम्ति उसले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनु पर्ने हुन्छ । विगतमा Foreign Workers Compensation Scheme (FWCS) मा आवद्ध भएका श्रमिकको हकमा ३१ डिसेम्बर २०१९ सम्मका लागि FWCS को म्याद समाप्त भएको अर्को दिन SOCSO मा दर्ता गराउनुपर्ने नियम रहेको थियो । तर १ जनवरी २०२० पश्चात भने सबै रोजगारदाताले अनिवार्य रुपमा SOCSO मा आवद्ध गराउनुपर्ने व्यवस्था छ । यसै अनुसार हालसम्म ४ लाख भन्दा बढी रोजगारदाता र ७० लाख भन्दा बढी स्वदेशी तथा विदेशी श्रमिक SOCSO मा आवद्ध भइसकेका छन् । मलेसियाभर यस संस्थाका ५४ कार्यालयहरु रहेका छन् ।

SOCSO मा आवद्ध भएका विदेशी श्रमिकहरुले Employment Injury Scheme For Foreign Worker नामको योजनामा सामेल हुन पाउँछन् । यस योजना अन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा सो वापत तोकिएको क्षतिपूर्ति प्राप्त हुनेछ । यस योजना बमोजिम प्राप्त हुने लाभहरुलाई स्वास्थ्य लाभ (Medical Benefit), अस्थायी असक्षमता लाभ (Temporary Disablement Benefit), स्थायी असक्षमता लाभ (Permanent Disablement Benefit), आश्रित लाभ (Dependants’ Benefit), निरन्तर उपस्थिति भत्ता (Constant Attendance Allowance), अन्त्येष्टि खर्च (Funeral Benefit) र पुनर्स्थापना सुविधा (Rehabilitation Facilities) गरी वर्गीकरण गरिएको छ । उल्लिखित लाभहरु कतिपय श्रमिक स्वयम्, कतिपय श्रमिकका परिवार तथा श्रमिकको रोजगारदातालाई उपलब्ध हुने प्रकृतिका छन् । श्रमिकका परिवारजनले प्राप्त गर्ने लाभहरुका निम्ति SOCSO ले परिवारको लगत अद्यावधिक गर्ने कार्य पनि गरिरहेको छ ।

कार्यस्थलमा हुने दुर्घटनाहरूको लागि रोजगारदाताले पंच कार्डहरू वा उपस्थिति रेकर्डहरू, मेडिकल प्रमाणपत्र र परिचय पत्रको प्रतिलिपि सहित दुर्घटना रिपोर्ट फाराम भरेर SOCSO कार्यालयमा पेश गर्नुपर्ने हुन्छ। यदि दुर्घटना काममा आउँदा वा कामबाट फर्कंदा भएको छ भने यी कागजातहरूका अतिरिक्त पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्शा पनि सामेल गरेको हुनुपर्दछ। कार्यस्थलको दुर्घटना वा कार्यस्थल जाँदा आउँदाको दुर्घटनामा वा कार्यस्थलजन्य रोगवाट पीडित भएका श्रमिकहरुका लागि SOCSO संग आवद्ध प्यानल क्लिनिक, सरकारी क्लिनिक र सरकारी अस्पतालमा उपचार गराउँदा निःशुल्क उपचारको सुविधा पाइन्छ। पूर्ण रुपमा अक्षमता भएका वा भविष्यमा शतप्रतिशत आय क्षमता गुमाएका वा निरन्तर हेरचाह आवश्यक पर्ने श्रमिकहरु तोकिएको मेडिकल बोर्डको सिफारिशका आधारमा निरन्तर उपस्थिति भत्ता (Constant Attendance Allowance) का हकदार हुने व्यवस्था गरिएको छ । यसैगरी मृत्यु भएका श्रमिकहरुको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाहसंस्कार गर्दा तोकिए बमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराइन्छ । अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ र आश्रित लाभ भने श्रमिक स्वयम् वा निजको परिवारजनले पाउने सुविधाहरु हुन् । कुनै पनि श्रमिक दुर्घटनामा परी स्थायी रुपमा आय आर्जन गर्न असक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्न योग्य हुन्छ । अस्थायी रुपमा काम गर्न असक्षम भएकाहरुले भने आय आर्जन तोकिएका शर्तका अधीनमा रही तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्दछन् । आश्रित लाभ अन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृत्यु भएमा निजको विधवा वा विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्न सक्ने व्यवस्था छ । मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशतका दरले वा आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम नै प्राप्त गर्न सक्ने व्यवस्था छ । यदि श्रीमान वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाई वा हजुरबा हजुरआमाले दैनिक तलबदरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

यस समझदारीपत्र पश्चात मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको सामाजिक सुरक्षालाई प्रभावकारी तुल्याउनका निम्ति सामाजिक सुरक्षा वापतका लाभहरुको प्रवाह, विचारको आदान प्रदान तथा श्रमिक तथा सरोकारवालाहरुको सचेतीकरणका मुद्दाहरुमा दुवै देशवीच सहकार्यको अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

मितिः २६ फेब्रुअरी २०२१
क्वालालम्पुर, मलेसिया