मलेशियामा लगानी सम्मेलनको प्रचारप्रसारको लागि Pre- Summit Promotional Road Show कार्यक्रम सम्पन्न

प्रेश वक्तव्य

मलेशियामा लगानी सम्मेलनको प्रचारप्रसारको लागि Pre- Summit Promotional Road Show कार्यक्रम सम्पन्न

लगानी सम्मेलन (Nepal Investment Summit, 29-30 March 2019) को प्रचारप्रसार गर्ने उदेश्यले नेपाल लगानी बोर्ड (IBN) र विश्व बैंक मलेशियाको संयूक्त आयोजनामा आज क्वालालम्पुरमा एक Pre- Summit Promotional Road Show कार्यक्रम सम्पन्न भयो । मलेशियाका लागि नेपालका नवनियूक्त राजदूत महामहिम उदयराज पाण्डेज्यूले उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेपालमा ठूलो बहुमत सहितको स्थिर सरकारले आफ्नो सम्पूर्ण ध्यान देशको आर्थिक विकासमा केन्द्रित गरेको अवस्थामा नेपालबाट भारत र चीन जस्ता विश्वकै द्रुत गतिका साथ उदयिमान बजारको निकटताका साथै नेपालभित्रकै पनि तीन करोड जनसंख्यामा आधारित बढ्दो आन्तरिक बजारबाट फाईदा लिन बैदेशिक लगानीका लागि प्रचुर संभाव्यता भएका जलविद्युत, पर्यटन र पूर्वाधार जस्ता क्षेत्रमा लगानी गर्ने उपयूक्त समय भएको धारणा राख्नुभयो। वँहाले आगामी लगानी सम्मेलनमा सक्रियतापूर्वक भाग लिनको लागि उपस्थित व्यवसायी तथा लगानीकर्ताहरुलाई आव्हान गर्दै सोको लागि दूतावासले सक्दो सहजीकरण गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । विश्व बैंक मलेशियाका Country Manager Dr. Firas Raad ले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालका सहसचिव श्री दिनेश भट्टराईले नेपालमा विदेशी लगानी आकर्षित गर्न पछिल्लो समयमा सरकारका तर्फबाट भैरहेको नीतिगत तथा कानूनी सूधारहरु तथा लगानी सम्मेलनबाट लिन सकिने फाईदाहरुबारे विस्तृत प्रस्तुतिकरणमा दिनुभएको थियो । उक्त कार्यक्रममा मलेशियाका विभिन्न प्रतिष्ठित व्यवसायी, लगानीकर्ताहरु, कम्पनीहरु, Nepal-Malaysia Business Council का प्रतिनिधिहरु लगायत दूतावास तथा विश्व बैंकका पदाधिकारीहरु गरी करिव ४० जनाको उपस्थिति थियो ।

मलेशिया तथा सिङ्गापुरमा लगानी सम्मेलनको प्रचार प्रसारको लागि अर्थमन्त्रीज्यूका सल्लाहकार डा. रामशरण खरेलको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्ड, FNCCI र CNI का पदाधिकारी एवं प्रतिनिधिहरु सम्मिलित एक प्रतिनिधिमण्डलले मलेशियाको लगानी प्रवर्धन सम्बन्धि निकाय MIDA, PEMADU तथा मलेशियाको अर्थ मन्त्रालयमा समेत विभिन्न भेटघाटहरु गरेको छ।

नेपाली राजदूतावास

क्वालालम्पूर।

२८ फाल्गुण २०७५ (12 March 2019)