संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को शुभकामना सन्देश

संविधान देशको मूल कानून हो। नेपालको संविधान २०७२ ले नेपालको विविधताको संवोधन गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प लिएको छ। सोही अनुसार संविधानले प्रत्याभूत गरेको रोजगारीको हक तथा सामाजिक सुरक्षाको हक लगायतका मौलिक हकहरुको कार्यान्वयन गर्ने कानूनहरु निर्माण भई कार्यान्वयनमा रहेका छन।

संविधान जारी भएपश्चात हाल सम्म करिब ३४ लाख कर्मशील युवाहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको लागि विभिन्न मुलुकहरुमा प्रस्थान गर्नु भएको छ। जनसांख्यिक लाभांशको रुपमा रहेका यी युवाहरु रोजगारीको लागि निरन्तररुपमा विदेशिनु पर्‍यो भने नेपाली नागरिकहरुले आकांक्षा गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुन कठिन हुनेछ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ को पावन अवसरमा संविधानको मर्म र भावना अनुसार प्रत्येक नागरिकलाई स्वदेशमै रोजगारीको अवसर मिलोस र प्रत्येक नागरिकको सामाजिक सुरक्षा सुनिश्चित होस भन्ने कामना सहित विभिन्न पेशा व्यवसाय तथा रोजगारको सिलसिलामा मलेसिया, ब्रुनाई, फिलिपिन्स, ईण्डोनेसिया लगायतका मुलुकमा रहनु भएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिकोलागि शुभकामना व्यक्त गर्दछौ।

नेपाली राजदूतावास, क्वालालम्पुर
२०७९ साल असौज ०३ गते सोमवार