Press release on Visit Nepal Year 2020 Inauguration

प्रेस विज्ञप्ति

नेपाली राजदूतावास, क्वालालम्पूर, मलेसियाले आज एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को  उद्‌घाटन गर्यो। पर्यटन विकासले मुलुकको समग्र विकास प्रक्रियामा पार्ने सकरात्मक प्रभावलाई ह्यदयङ्गम गरी  सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप आयोजना गरिएको नेपाल पर्यटन वर्ष २०२० को उद्‌घाटन समाहरोह विदेशमा रहेका सम्पूर्ण कूटनीतिक नियोगहरुले जनवरी ०७ तारिखका दिन एकसाथ मनाउने कार्यक्रम रहे अनुसार यो कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा मलेसियाका पर्यटन, कला तथा संस्कृति मन्त्री माननीय दातुक श्री मोहमद्दिन विन केतापी प्रमुख अतिथिको रुपमा पाल्नु भएको थियो भने मलेसियाको परराष्ट्र मन्त्रालय लगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैर सरकारी निकायहरु, मलेसिया र नेपालवीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, टुर तथा ट्राभल्स एजेन्सीहरु, होटल, उद्योगी तथा व्यापारिक वर्ग, मिडिया लगायतका उच्चस्तरको प्रतिनिधित्व रहेको थियो।

प्रमुख अतिथिको रुपमा पाल्नु भएका मलेसियाका पर्यटन मन्त्री माननीय श्री केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाईमा नेपाल रहने बारे विश्वास व्यक्त गर्नुका साथै पर्यटनको विकासको लागि  उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानव श्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि सबैले गर्नुपर्ने विषयमा जोड दिनु भयो।

कार्यक्रमलाई सम्वोधन गर्दै मलेसियाका लागि नेपालका राजदूत महामहिम उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियावीचमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा हुनुपर्ने साझेदारी लगायतका विषयमा प्रकाश पार्दै सम्पूर्ण मलेसियन नागरिक तथा विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नु भयो । साथै उहाँले मलेसिया भ्रमण वर्ष २०२० को सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो।

२०७६ पौष २२ तदनुसार ०७ जनवरी २०२०
क्वालालम्पूर, मलेसिया